तपाईँ विदेशबाट नेपाल आउनुभएको छ र फेरि फर्कन चाहनुहुन्छ भने श्रम स्वीकृतिको म्याद सकिएको भए नवीकरण गर्नुपर्नेछ। यसका लागि तपाईँले पेश गर्नुपर्ने मुख्य कागजात यस्तो छ
• रीतपूर्वकको श्रम स्वीकृति फाराम/निवेदन,
• राहदानी, र सोको फोटोकपी,
• अवधी खुलेको भिसाको फोटोकपि,
• करार अवधि समेटने गरी गरेको बीमाको प्रति
• कल्याणकारी कोषमा रकम जम्मा गरेको बैंक भौचर,
• राहदानीमा अराइभल लेखेको स्टिकरको फोटोकपि।
सब कागजात पुगेको भए तपाईँले निवेदन पेश गरेकै दिन श्रम स्वीकृति दिनु पर्छ। यसका लागि तपाईँको लाग्ने खर्च भनेको फाराममा टाँस्न रु.१० को टिकट र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डमा रु. १,००० जम्मा गरेको बैँक भौचर हो। यी सब कागजात तपाईँले व्यक्तिगत श्रम स्वीकृति शाखामा शाखा अधिकृत/नायब सुब्बा/खरिदारलाई पेश गर्ने हो।
उनीहरुले रायसहित पेश गरेको तपाईँको निवेदनलाई निर्देशकले अन्तिम निर्णय गर्छन्। तपाईँलाई केही कुरामा चित्त बुझेन भने नोडल अधिकृतकोमा गुनासो गर्न सक्नुहुन्छ। काममा ढिलाइ सिलाइ गरे उजुरी तथा अनुसन्धान शाखामा उजुरी गर्न सक्नुहुन्छ। छानबिनमा दोषी ठहरिए तपाईँले क्षतिपूर्ति रकम समेत पाउनु हुनेछ।
यसपछि तपाईँको काम श्रम कक्ष (लेबर डेस्क) मा हुनेछ। त्यहाँ तपाईँलाई वैदेशिक रोजगार विभागबाट दिइएको श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत नयाँ, व्यक्तिगत नवीकरण) को स्टिकरमा निस्सा प्रदान गरिन्छ। त्यसका लागि तपाईँले पेश गर्नुपर्ने कागजातहरु-
• सक्कलै राहदानी तथा भिसा,
• विमा, कल्याणकारी कोषमा रकम जम्मा गरेको भौचर,
• संस्थागत रुपमा जानेको हकमा श्रम स्विकृति पत्र र इजाजत
पत्रवालालाई रकम बुझाएको रसिद/भौचर,
• अनुमति प्राप्त संस्थाबाट लिएको स्वास्थ्य परीक्षणको
प्रमाणपत्र,
• रोजगार सम्झौता पत्र।
यी कागजात तपाईँले श्रम कक्षमा रहेका ना.सु./कम्प्युटर अपरेटर/ खरिदारलाई बुझाउने हो। उनीहरुले रायसहित पेश गर्छन् र अन्तिम निर्णय शाखा अधिकृतले गर्छन्। केही गुनासो भए तपाईँले निर्देशककहाँ गएर गर्नुपर्छ। यी सब काम गर्न तपाईँलाई कुनै शुल्क लाग्ने छैन।